काठमाडौँ- राजधानीको वसुन्धरा स्थित साउथवेस्टर्न स्कुलले थाइल्यान्डमा आयोजित बालबालिका सम्बद्ध अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘किड्स स्टार इन्टरनेसनल २०२२’ मा टाइटल अवार्ड सहित विभिन्न विधागत अवार्ड प्राप्त गरेको छ ।
काठमाडौँमा फेसन इराको आयोजनामा सम्पन्न ‘लिटल स्टार प्रिन्स एन्ड प्रिन्सेस २०२२’ मा प्रिन्स तर्फका विजेता साउथवेस्टर्न स्कुलका छात्र आर्यन पोखरेल तथा प्रिन्सेस तर्फकी विजेता स्मारिका लम्साल र प्रिन्सेस तर्फ सेकेन्ड रनर अफ युभी लामा गुरुङ साउथवेस्टर्न स्कुलका साथै नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजित ‘किड्स स्टार इन्टरनेसनल २०२२’ मा सहभागी भएका थिए ।
थाइल्यान्डमा १७ डिसेम्बर २०२२ मा सम्पन्न प्रतियोगितामा साउथवेस्टर्न स्कुलको कक्षा ५ मा अध्ययनरत छात्र आर्यन पोखरेलले ‘किड्स स्टार इन्टरनेसनल २०२२’ को टाइटल उपाधिसहित ‘राइजिङ स्टार २०२२’ को उपाधि पनि हात पारे । सोही स्कुलमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा स्मारिका लम्सालले विधागत तर्फको बेस्ट फ्रेन्डसिप अवार्ड सहित बेस्ट कस्टमतर्फ फोर्थ रनर अपको उपाधि जितेकी छिन् । त्यसैगरी साउथवेस्टर्न स्कुलकै कक्षा ५ मा अध्ययनरत छात्रा युभी लामा गुरुङले किड्स स्टार फिफ्थ रनर अपको उपाधि जित्न सफल भएकी छन् ।
बालबालिकाहरूको अन्तर्निहित प्रतिभालाई परिपक्व बनाउन अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढ्न साउथवेस्टर्न स्कुलले उत्प्रेरणा प्रदान गरेको स्कुलका प्रधानाध्यापक रमेश अधिकारी बताउँछन् । बालबालिका केन्द्रित सौन्दर्य प्रतियोगिता सँगै सङ्गीत, नृत्य, अभिनय जस्ता विभिन्न प्रतियोगिताले बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन सहज हुने र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगितामा बालबालिकाहरूलाई सहभागी गराउँदा उनीहरूको चौतर्फी विकाससँगै हाम्रो संस्कृति तथा भेसभुसाको प्रवर्धनमा समेत सहयोग पुग्ने प्रधानाध्यापकको विचार रहेको छ ।